June 17, 2024

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोली यति बेला आइसीसी टि २० क्रिकेट विश्वकपको तयारीमा छ। विश्वकप अगाडीको पहिलो वार्मअप खेलमा नेपालले सोमबार राति क्यानाडाको सामना गर्यो।

नेपाल भन्दा केहि कम्जोर मानिएको क्यानाडाले पहिलो वार्मअप खेलमा चक्मा दिँदै जित दर्ता गर्यो। ड्यालस स्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाल ६३ रनको फराकिलो अन्तरले पराजित भयो।

क्यानाडाले दिएको १ सय ८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा १ सय २० रनमा समेटिन पुग्यो। टस जितेर बलिङ रोजेपनि नेपालले क्यानाडालाई दबाबमा राख्न सकेन।

क्यानाडा विरुद्धको खेलका अन्तिम ओभरमा नेपाली बलरहरु नराम्रोसँग चुटिए। नेपाली बलरले अन्तिम तीन ओभरमा ५५ रन खर्चिएका थिए। जसकारण क्यानाडाले राम्रो योगफल तयार पार्यो।

१८ औँ ‌ओभरमा सोमपाल कामीले १६, १९ औँ ओभरमा अविनाश बोहराले १८ र २० औँ ओभरमा करण केसीले २१ रन खर्चिए। यी तीन ओभरमा नेपालले ९ अतिरिक्त रन दिएको थियो।

१७ ओभरको समाप्तिमा ६ विकेट गुमाएर एक सय २८ रनको स्थितिमा रहेको क्यानडाले अन्तिम तीन ओभरमा एक विकेट गुमाएको थियो। तीन ओभरले उसले ७ बाउन्ड्री प्रहार गरेको थियो। जसमा ४ छक्का र तीन चौका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *