June 25, 2024

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले भिसा नपाएर टी–ट्वान्टी क्रिकेट विश्वकपमा खेल्नबाट वञ्चित हुनुको कारण नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दको गैर जिम्मेवारीपनलाई मानिएको छ। यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ।

अध्यक्ष चन्दले सन्दिपको भिसाका लागि आफूले हरसम्भव प्रयास गरे पनि नपाएको दाबी गर्दै आए पनि १५ सदस्यीय खेलाडी सूचीमा नाम नराखेकै कारणले सन्दीपले विश्वकप खेल्नबाट वञ्चित भएको चर्चा चुलिएको छ।

इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) मा पठाएको १५ सदस्यीय खेलाडी नामावलीमध्ये एक जनाको भिसा रोकिँदा पूरै टिमलाई असर पर्छ भनेर किन अडान लिन सकेनन् भनेर पनि जनमानसमा प्रश्न उठेको छ।

१५ सदस्यीय टोलीमध्ये एकजना महत्वपूर्ण खेलाडी भिसा नपाएर नेपालमै रोकिएको कुरा किन गम्भीरताका साथ आयोजकसमक्ष राख्न सकेनन् भन्ने प्रश्न पनि उहाँमाथि तेर्सिएको छ। यदि, क्यान अध्यक्षको कुरालाई शतप्रतिशत सत्य मान्ने हो भने सन्दीपले दोस्रोपटक भिसाका लागि आवेदन दिँदा नेपाली टिमको १६औं खेलाडीको हैसियतले अन्तरवार्ता दिएको पो हो कि भन्ने शंका पनि उत्पन्न भएको छ।

किनभने त्यसअघि नै आईसीसीमा पठाइएको नामावलीका १५ जना खेलाडी अमेरिका पुगिससेका थिए। त्यसैले सन्दीपलाई नेपाली टिमको १६औं खेलाडी भनेर भिसाका लागि आवेदन दिन लगाएको पो हो कि भन्ने शंका उब्जिन्छ ।

उहाँले उक्त अन्तर्वार्तामा सन्दीपको नाम अझै पनि टिमको सूचीमा रहेको बताउनुभएको थियो । तर, उहाँले सन्दीप १५ सदस्यीय टिमका खेलाडी हुन् वा पछि खेलाडीको सूचीमा थपिएको नाम हो भन्ने खुलाउनु भएन। यदि, त्यसो हो भने अमेरिकी दूतावासले सन्दीपका लागि भिसा दिनुपर्ने कुनै बाध्यकारी अवस्था बन्दैन र सन्दीपले भिसा पाउने कुरै आउँदैन ।

वास्तवमै क्यान गम्भीर बनेको भए १५ मध्ये १४ खेलाडीलाई मात्र अमेरिका लगेर सन्दीपको भिसाका लागि जोडदार पहल गरिनुपर्थ्यो। अथवा अमेरिकामा रहेका १५ जनामध्ये एक जना खेलाडीलाई फर्काउनुपर्थ्यो। जसमा क्यान चुकेको देखिन्छ। खेलाडी, प्रशिक्षक र पदाधिकारीहरू गरी क्यानलाई आईसीसीले विश्वकप खेल्न २५ जनाको कोटा दिएको थियो।

विश्वकपमा सहभागी हरेक टिमलाई आईसीसीले १५ खेलाडीको कोटा उपलब्ध गराएको थियो। यदि, क्यानले सन्दीपलाई टिममा राख्न चाहन्थ्यो भने आईसीसीलाई पठाएको खेलाडी सूचीमा सन्दीपसहित अन्य १४ जना खेलाडीको नाम समावेश गरिनुपर्थ्यो। खेलाडीको अन्तिम नामावली सूची पठाउने अन्तिम मितिभन्दा अघि नै सन्दीपले पुनरावेदन अदालतबाट सफाइ पाइसकेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *