June 16, 2024

काठमाडौँ – उच्च अदालतले सफाइ दिएपनि अमेरिकाले टी–२० विश्वकप खेल्न जान भिसा नदिएपछि सन्दीप लामिछाने यति बेला नेपालमै छन्। यतिबेला क्रिकेटर सन्दीप लामिछाने स्तब्ध छन् ।  किनभने उनलाई विश्वकपमा देख्ने नेपाली क्रिकेट प्रेमीहरुको सपना पूरा हुन सकेन।

अमेरिकाले दुई पटक अन्तर्वार्ताका लागि बोलाएर पनि सन्दीपलाई भिसा नदिँदा उनी नेपालमै अड्किन पुगे। आफूले विश्वकपमा सहभागिता जनाउन नपाएपनि उनले मंगलवार नेपाली टोलीलाई भारी मनले शुभकामना दिएका थिए ।

बुधवार भने सन्दीप आफ्नो जन्मजिल्ला स्याङ्जामा पर्ने डहरे देउराली मन्दिर दर्शनका लागि गए । विश्वकपमा सहभागी हुन नपाएपछि सन्दीप मन भुलाउन हरे देउराली मन्दिर पुगेका हुन् ।

मन्दिर दर्शन गरिरहेको र पुजारीसँग आशीर्वाद लिइरहेको तस्वीर सन्दीपले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । डहरे देउराली मन्दिर पर्वतसँगकाे सीमामा अवस्थित स्याङ्जाको अर्जुनचौपारि गाउँपालिका–५ मा पर्छ ।

स्याङ्जा सन्दीपको जन्मजिल्ला रहेको छ। बलात्कार मुद्दामा उच्च अदालत पाटनले गत जेठ २ गते निर्दोष साबित गरेपनि नेपालस्थित अमेरिकी दूतावासले भने सन्दीपलाई टी–२० विश्वकप खेल्न जानलाई भिसा दिन अस्वीकार गरेको थियो।

सन्दीपबिनाको नेपाली टोली पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको छ । नेपालले अब श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिकाविरुद्ध खेल्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *