एजेन्सी – शेख हसिनालाई दिल्लीका बारेमा राम्ररी थाहा छ। निर्वासनमा हुँदा उनी ६ वर्ष त्यहीँ बसेकी थिइन्। भारतलाई पनि हसिनाबारे राम्ररी थाहा छ।त्यसैले नै उनी बंगलादेशको सत्तामा पुगेसँगै यी दुई देशको सम्बन्ध निकट रह्यो। हसिना सदा भारतको विश्वासनीय मित्र रहँदै आइन्।
२००९ मा उनी सत्तामा आउँदा भारतमा कंग्रेस सरकार थियो। जोसँग उनको राम्रो सम्बन्ध रह्यो। तर, २०१४ मा नरेन्द्र मोदी सत्तामा आएपछि द्विपक्षीय सम्बन्ध अझ उचाइमा पुग्यो।
हसिनाकै कार्यकालमा भारत र बंगलादेशले सीमा विवाद टुंग्याए। त्यसअघि बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) सत्तामा हुँदा भारत सुरक्षालाई लिएर ज्यादा चिन्तित हुने गर्थ्यो। तर, भारतका सुरक्षा चासोलाई सम्बोधन गर्न हसिनाले कुनै कसर छाडिनन्।
सोहीकारण सात महिनाअघिको चुनावलगत्तै बंगलादेशमा ‘बोइकट इन्डिया’ अभियानले गति लिएको थियो। भारतले चुनावमा हस्तक्षेप गरेको भन्दै बंगलादेशी विपक्षी र डायस्पोराले सो अभियान चर्काएका थिए।
अमेरिकासहित पश्चिमा शक्तिहरूले चुनावको निष्पक्षतामा प्रश्न उठाइरहँदा भारतले भने हसिनाको पार्टीलाई सघाएको विपक्षीको आरोप थियो। त्यसपछि हजारौँ बंगलादेशीले भारतीय सामान बहिष्कार गरेका थिए।
सो चुनावमा शेख हसिनाको विजयबाट कुनै विदेशी नेता खुसी थिए भने उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नै थिए। बेलाबखत बंगलादेशबाट घुसपैठियाहरू भारत छिरेको आरोप उनले लगाए पनि मोदी हसिनासँग निकट थिए। खासगरी चीन र पाकिस्तानसँग दुस्मनी चलिरहेका बेला यो क्षेत्रमा उनको बलियो साझेदार भनेकै बंगलादेश थियो।
तर, यतिबेला हसिना सत्ताच्यूत भएर भागेसँगै भारतलाई सबैभन्दा ठूलो घाटा भएको विश्लेषण हुन थालेको छ। किनकि, बंगलादेशसँगको सम्बन्धमा मोदी पूर्ण रूपमा हसिनासँग निर्भर थिए। अबको सरकारसँग संवाद गर्न भारतलाई हसिनासँग जस्तो सहज हुने छैन। यसले आउँदा दिनमा भारत–बंगलादेश सम्बन्ध व्यवस्थापनमा असर गर्न सक्ने कतिपयको विश्लेषण छ।
भारतसँग बंगलादेशको सम्बन्ध बढी राजनीतिक देखिन्छ भने चीनसँग आर्थिक। १३ वर्षयता चीन बंगलादेशको सबैभन्दा ठूलो व्यापारिक साझेदार रहँदै आएको छ। २०२३ सम्ममा बंगलादेशमा चिनियाँ लगानी ३.२ अर्ब डलर पुगेको छ। जुन दोस्रो ठूलो लगानीको स्रोत हो। बंगलादेशका ७ वटा रेलमार्ग, १२ वटा राजमार्ग, २१ वटा पुल र ३१ वटा पावर स्टेसनमा चीनको योगदान छ।
हालैको चीन भ्रमणमा हसिनाले २१ वटा एमओयूमा हस्ताक्षर गरिन्। उनीहरूले द्विपक्षीय सम्बन्धलाई पनि रणनीतिक साझेदारीबाट बृहत् रणनीतिक सहकार्यमूलक साझेदारीमा स्तरोन्नति गरे। तैपनि उनको चीनभ्रमण सोचेजति सफल भएन। २० अर्ब डलर ऋण उनले प्राप्त गर्न सकिनन्। उनले भ्रमण एक दिन छोट्याएकी थिइन्।
तर, चीन भ्रमणको मुखमा उनले भारत भ्रमण गरेर आफ्नो प्राथमिकतालाई प्रकट गरिसकेकी थिइन्। हसिना जुन ९ मा मोदीको शपथग्रहण समारोहमा पुगेकी थिइन्। त्यसको दुई साता नपुग्दै उनले दुई दिने राजकीय भ्रमण गरिन्।
भारत र चीनबीच सन्तुलन मिलाउन बंगलादेशलाई झनझन् कठिन हुँदै गएको थियो। खासगरी पानीका सवालमा। भारतले हालै टिस्टा परियोजनाका लागि लगानी गर्ने प्रस्ताव अघि सारेको छ। चीनले पनि सोही परियोजनामा लगानी गर्ने प्रस्ताव गरेको थियो।
यसमा बंगलादेशी विदेशमन्त्री हसन महमुदले भारतको प्रस्तावलाई प्राथमिकता दिने बताएका थिए। हसिनाको सरकारले भारतलाई ‘राजनीतिक मित्र’ र चीनलाई ‘विकास प्राप्तिको मित्र’ भन्ने गरेको छ।